२६ बैशाख २०८१, बुधबार

तोसिमालाई आयोगको निर्देशन : आफ्नो चुनाव चिह्न घण्टी बजाएर प्रचार नगर


डा. तोसिमा कार्की

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ । घण्टी बजाएर चुनाव प्रचारमा हिँड्दा अरुलाई बाधा व्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी कार्कीलाई आयोगले आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत यस्तो निर्देशन दिएको हो । प्रचारप्रसार र घरदैलोका क्रममा उक्त पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेअनुसार उम्मेदवारले आफ्नो चुनाव चिह्न बोकेर प्रचारप्रसारमा जान पाइँदैन ।

उक्त आचारसंहिताको खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, कपडा, टोपी, टि-सर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुने’ उल्लेख छ। यसैअनुसार निर्वाचन आचारसंहिता अनुगमन समितिले कार्कीलाई चुनाव चिह्न घन्टी बजाउँदै चुनावी प्रचारमा नहिँड्न भनेको हो।

आयोगले यसअघि कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेतापनि सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी कायम गरिदिएको थियो । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको थियो ।

आयोगले कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेपछि आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन् । अन्तरिम आदेशमार्फत उनको उम्मेदवारी कायम भएको थियो । सर्वोच्चको आदेशविरूद्ध निर्वाचन आयोगले भ्याकेट निवेदन पनि दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !