७ बैशाख २०८१, शुक्रबार

आसन्न निर्वाचन : दैलेखमा यस्तो छ चुनावी प्रतिस्पर्धा


अम्मरबहादुर थापा र रवीन्द्रराज शर्मा

कर्णाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन दुई साता बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा (एमाले) र गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी गाउँ केन्द्रित चुनावी अभियानमा जुटेका हुन् ।

विसं २०७४ को सम्पन्न निर्वाचनमा तीन प्रदेशसभामा एमाले र एक प्रदेश निर्वाचन क्षेत्रमा माओवादीले जित हात पारेको थियो । प्रदेशसभाको उक्त निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन रहेको थियो । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा जित हात पारेको एमालेलाई यसपटक निर्वाचनमा पाँचदलीय गठबन्धन चुनौती बन्ने देखिएको छ ।

एमालेलाई यो चुनौती जिल्लाको प्रतिनिधि र प्रदेशसभा दुवै क्षेत्रमा पर्ने देखिन्छ । क्षेत्र नं १ मा पर्ने छवटा स्थानीय तहमध्ये तीन स्थानीय तहमा एमालेले जित हात पारेको छ । अन्य दुई स्थानीय तहमा माओवादी केन्द्र र एक स्थानीय तहमा कांग्रेस विजयी भएको छ । स्थानीय तहको मत नतिजालाई केलाउने हो भने यहाँ गठबन्धनभन्दा एमाले करिब नौ हजार तीन सय ९८ मतले पछि देखिन्छ ।

सङ्घीय प्रतिनिधिसभाको लागि एमालेबाट रवीन्द्रराज शर्मा र संयुक्त गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाको उम्मेदवारी छ । पाँच दलका साझा उम्मेदवार रहेकाले आफूले जित्ने समाजवादीका उम्मेदवार थापाले जिकिर गर्दै आएका छन् । उसो त एमालेका उम्मेदवार शर्माले एमालेको जनाधार बलियो रहेकाले यो पटक पनि आफू निर्वाचित हुने दाबी गरेका छन् ।

तीन दशक एउटै पार्टीमा रहेर सहकर्मीका रूपमा काम गरेका गठबन्धनका साझा उम्मेदवार थापा र एमालेका शर्माबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।

नारायण नगरपालिकामा एमालेभन्दा पाँचदलीय गठबन्धन पछि रहेको छ । स्थानीय तहको मतपरिणामलाई हेर्दा यहाँ एमालेले पाँच हजार चार सय ३६ मत प्राप्त गर्दा गठबन्धन दलहरूले पाँच हजार तीन सय ८२ मत प्राप्त गरेको छ । नौमूले गाउँपालिकामा एमालेभन्दा गठबन्धनका दल झण्डै चार हजार मतले अघि छन् ।

नौमूलेमा सामाजवादी–माओवादी गठबन्धनमा तीन हजार दुई सय मत र कांग्रेसको दुई हजार पाँच सय ४४ मत रहेको छ भने एमालेको एक हजार नौ सय २० मत रहेको छ । भगवतीमाई गाउँपालिकामा गठबन्धनका दलहरूको मत पाँच हजार ७६ देखिन्छ । एमालेले स्थानीय तहको निर्वाचनमा भगवतीमाई गाउँपालिकामा एक हजार नौ सय ३३ मत प्राप्त गरेको छ ।

गुराँस गाउँपालिकामा गठबन्धनका दलले चार हजार पाँच सय आठ मत रहेको छ भने एमालेको चार हजार छ सय ८१ रहेको छ । डुङ्गेश्वर गाउँपालिकामा एमालेले तीन हजार चार सय छ मत रहेको छ भने गठबन्धन दलहरूको तीन हजार तीन सय ३६ मत रहेको छ । ती स्थानीय तह क्षेत्र नं १ को (१) प्रदेशमा पर्छन् । यो प्रदेशमा गठबन्धन दलका पूर्णबहादुर चालिसे र एमालेका धर्मराज रेग्मीले उम्मेदवारी दिएका छन् । यसमा गठबन्धनका चालिसे बलियो देखिएको छ ।

स्थानीय तह निर्वाचनमा महावु गाउँपालिकामा कांग्रेसले दुई हजार नौ सय ७९, समाजवादीले दुई हजार दुई सय ६८ र एमालेले दुई हजार पाँच सय १९ मत प्राप्त गरेको छ । क्षेत्र नं १ को (२) प्रदेशमा ती स्थानीय तह पर्छन् । यो प्रदेशसभाका लागि एमालेबाट प्रेमबहादुर थापा र गठबन्धनबाट कृष्णकुमार बिसीले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं २ मा पाँच स्थानीय तह पर्दछन् । चार स्थानीय तहमा कांग्रेसले जितेको छ भने आठबीस नगरपालिकामा मात्र एमालेले जित हात पारेको छ । विसं २०६४ बाट सङ्घीय निर्वाचनमा पराजित नभएको एमालेलाई अहिले पाँचदलीय गठबन्धन भारी पर्नेे देखिन्छ ।

स्थानीय निर्वाचनमा दलहरूले पाएका मत केदाउँदा एमाले गठबन्धनका दलभन्दा तीन हजार आठ सय पाँच मतले पछि देखिन्छ । गठबन्धन दलबाट कांग्रेसका दिक्पाल शाही र एमालेका लक्ष्मीप्रसाद पोखरेलले सङ्घीय प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा चामुण्डा विन्द्रासैनी नगरपालिकामा गठबन्धनका दलले चार हजार चार सय पाँच मत प्राप्त गरेका छन् भने एमालेले तीन हजार नौ सय ९२ मत प्राप्त गरेको छ । दुल्लु नगरपालिकामा गठबन्धनका दलले सात हजार नौ सय एक मत प्राप्त गरेका छन् एमालेले सात हजार एक सय ६० मत पाएको छ ।

भैरवी गाउँपालिकामा गठबन्धनका दलको अलग–अलग मतको नतिजालाई हेर्दा कांग्रेस र माओवादीभन्दा एमाले एक हजार चार सय १० मतले पछि देखिन्छ । कांग्रेसले स्थानीय तहका निर्वाचनमा तीन हजार नौ सय ७६ मत प्राप्त गरेको छ । माओवादीले एक हजार तीन सय ९३ मत प्राप्त गरेको छ । एमालेले तीन हजार नौ सय ६० मत प्राप्त गरेको देखिन्छ ।

क्षेत्र नं २ (१) प्रदेशसभाका लागि गठबन्धन दलबाट घनश्याम भण्डारी र एमालेका तिलक रिजालले उम्मेदवारी दिएका छन् ।

यस्तै ठाँटिकाध गाउँपालिकामा कांग्रेसका उम्मेदवारले दुई हजार पाँच सय ७१, माओवादी केन्द्रले एक हजार छ सय १७ मत प्राप्त गरेको छ भने एमालेले दुई हजार छ सय ९५ मत प्राप्त गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेले जित हात पारेको छ । क्षेत्र नं २ को (२) प्रदेशमा यी स्थानीय निकाय पर्छन् । यो प्रदेशसभाका लागि एमालेका विनोदकुमार शाह र गठबन्धन दलबाट योगेन्द्र शाहीले उम्मेदवारी दिएका छन् ।

विश्लेषक पिताम्बर ढकाल स्थानीय तहको मतसङ्ख्यालाई मात्र प्रतिनिधि तथा प्रदेशसभा सदस्य जितको आधार बनाउने हो त्यसले परिणाम फरक आउने देखिन्छ । “यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ”, उनले भने, “सूचना र प्रविधिको तीव्र विकास भइरहेको बेला विगतको जस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन् ।”

बुद्धिजीवी छवि सुवेदीले वाम–लोकतान्त्रिक गठबन्धन विगतको गठबन्धनभन्दा सैद्धान्तिक हिसाबले फरक हुँदा केही अन्तराल देखिएको बताए । “गठबन्धनभित्र इमान्दारिता नभए त्यसको परिणाम फरक आउने यद्यपि २५ प्रतिशतले बदमासी गरे पनि जित गठबन्धनको पोल्टामा पर्ने अनुमान गर्न सकिन्छ”, उनले भने ।

जिल्लामा लामो समय समाज सेवामा समय दिँदै आएका थिरबहादुर कार्कीले अहिलेको चुनाव रोचक हुने बताए । उनले विगतको निरन्तरतालाई क्रमभङ्ग गरेर यसपालि दैलेखको नतिजा फरक आउने प्रतिक्रिया दिए । उनका अनुसार स्थानीय तहमा पार्टीले प्राप्त गरेको मतसङ्ख्या जितको प्रमुख आधार बन्न सक्दैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !