७ बैशाख २०८१, शुक्रबार

आयोगको निर्णयविरुद्ध डा. तोसिमाद्वारा सर्वोच्चमा रिट दायर


डा. तोसिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी कार्कीले आफ्नो उम्मेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन् । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ ।

आयोगले कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेपछि आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको थियो ।

डा. कार्की लाभको पदमा बहाल रहेकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो । उजुरीका आधारमा कार्यालयले सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरणसहितको कागजात पठाएको थियो ।

उम्मेदवार डा. कार्की मिति २०७८ पुस २ देखि चार वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्थाबमोजिम २०७९ वैशाख ९ देखि २०७९ भदौ २ गतेसम्म भत्ता बुझेको पाइएको आयोगले जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !