८ बैशाख २०८१, शनिबार

दिपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण


दीपक मनाङ्गे

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङलाई स्पष्टीकरण सोधेको छ ।

उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार ! मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम मङ्सिर ४ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारका लागि कायम गरिएको खर्चको सीमा मिति २०७९ असोज ३१ गतेको नेपाल राजपत्रमा प्रकाशन गरिसकेको छ ।

आयोगले गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेशसभा क्षेत्र नं ‘ख’ का लागि तोकेको खर्चको सीमा रु २३ लाख रहेको छ । गुरुङलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय मनाङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !