२ कार्तिक २०८१, शुक्रबार

नयाँ अमेरिकी राजदूत डिन थम्पसन आइपुगे काठमाडौँ


डिन थम्पसन

काठमाडौँ । नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसन काठमाडौँ आइपुगेका छन् । नेपालस्थित अमेरिकी राजदूतावासले नवनियुक्त राजदूत थम्पसन आज काठमाडौँ आइपुगेको जनाएको छ ।

उनी अमेरिकी विदेश मन्त्रालयको वरिष्ठ कूटनीतिज्ञका रूपमा चिनिन्छन् । यसअघिका राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिएसँगै अमेरिकी सरकारले थम्पसनलाई नेपालको राजदूतको जिम्मेवारी प्रदान गरेको हो ।

राजदूत बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् । राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर गत आइतबार स्वदेश फर्किएका थिए ।

विदेश सेवामा लामो समयको अनुभव सँगालेका थम्पसन सन् २०२१ देखि अमेरिकाको विदेश मन्त्रालयस्थित दक्षिण तथा मध्य एसियाली मामिलाका लागि प्रमुख उपसहायक विदेशमन्त्रीका रूपमा कार्यरत थिए ।

उनले कार्यवाहक विदेशमन्त्रीको पद पनि सम्हालिसकेका छन् । आफ्नो कूटनीतिक सेवाका क्रममा भारत, रोमानिया लगायतका देशमा रहेर काम गरिसकेका थम्पसन अमेरिकी रक्षा मन्त्रालय मातहत रहेर दक्षिण कोरियाका लागि सुरक्षा सहायता सचिवका रूपमा अनुभव सँगालेका थिए ।

अमेरिकी राजदूतावासले आउँदा केही दिनहरू राजदूत थम्प्सन, उनकी पत्नी जेनले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा समय बिताउने बताएको छ । त्यसपछि राजदूत थम्प्सनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने छन् ।

डिन थम्पसन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !