काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले बागी उम्मेदवारलाई ५ वर्षका लागि पार्टीबाट निस्कासन गरेको छ । काँग्रेसले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार दिएकाहरूलाई ५ वर्षका लागि निस्कासन गरेको हो ।
पार्टीको निर्देशनविपरीत उम्मेदवारी फिर्ता नलिएका उम्मेदवारसहित उनीहरूका प्रस्तावक र समर्थकलाई समेत कांग्रेसले कारबाही गर्दै ५ वर्षका लागि निस्कासन गरेको हो । आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएकोले उनीहरुलाई निष्कासन गरिएको हो ।
निर्वाचनमा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति विपरीत बागी उम्मेदवारी दिएकाहरूको हकमा कांग्रेसले पार्टीको विधान बमोजिम सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरेको हो । कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरेको हो ।