काठमाडौँ । सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको गठबन्धनको बैठक केही समयअघि सकिएको हो ।
आजको बैठकमा गठबन्धनका नेताहरुले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रधानमन्त्री देउवाले नेताहरुको सुझावलाई ध्यान दिएर कानूनविद्हरुसंग छलफल गरेर निर्णय लिने भएका छन् ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग चुनावी तालमेल गरेपछि जसपासँग रुष्ट बनेका प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरूलाई हटाउने तयारी गरेका हुन् ।
सरकार पनि बस्ने अनि प्रमुख प्रतिपक्षीसँग चुनावी तालमेल गरेको भन्दै गठबन्धन दलका नेताहरुले जसपाका मन्त्री हटाउन प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन् । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले जसपाको मन्त्री हटाउने सम्वन्धमा कानून व्यवसायीसँग समेत परामर्श गरेर निर्णय लिने भएका हुन् ।
जसपाबाट देउवा सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।
आसन्न निर्वाचनमा जसपाले मागेजति सिट नदिएको भन्दै अन्तिम अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको थियो । गठबन्धनबाट बाहिरिएको जसपाले एमालेसँग १७ सीटमा चुनावी तालमेल गरेको छ ।