काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारी दर्ता आज असोज २३ गते हुँदै छ । यसका लागि निर्वाचन आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
प्रत्यक्षतर्फ आज उमेदवारको मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
आज यो समयभित्र सम्बन्धित क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित गएर मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ । आज बेलुका ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने कार्यतालिका रहेको छ ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ ।