७ बैशाख २०८१, शुक्रबार

पूर्वराज्यमन्त्री संजय साहको जन्मकैद फैसला उच्च अदालतद्वारा सदर


संजय साह

जनकपुर । पूर्वराज्यमन्त्री संजय साहको जन्मकैद फैसला उच्च अदालत जनकपुरले सदर गरेको छ । उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा पूर्व राज्यमन्त्री साहलाई जिल्ला अदालत धनुषाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालत जनकपुरले आज सदर गरेको हो ।

उच्च अदालत जनकपुरले सिंहानिया हत्याको मुख्य योजनाकार साहलाई जन्मकैदको सजाय दिने फैसलालाई सदर गरेको हो । न्यायधिश प्रमोदकुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गर्दै फैसला सुनाएका हो ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नालाई लक्षित गरी बम विस्फोट गराउँदा मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झासहित ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

साहलाई जनकपुरको रामानन्द चोक बम विस्फोट र २०६६ फागुन १७ गते सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य योजनाकार भएको अभियोग लगाइएको थियो । जनकपुर बम विस्फोटका मुख्य अभियुक्तको आरोपमा पूर्व राज्यमन्त्री साह हाल नख्खु कारागारमा जेल जीवन बिताइरहेका छन् ।

सिंघानिया हत्याको मुद्दामा जिल्ला अदालत धनुषाले २०७६ असार १७ गते साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले फैसलाप्रति असन्तुष्टि जनाउँदै २०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन दिएका थिए ।

उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सभासद्‌ रहेकै बेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !