४ जेष्ठ २०८१, शुक्रबार

उत्तरी नाका खुलाउन र बिआरआई कार्यान्वयन गर्न चिनियाँ सभामुखसँग प्रचण्डको आग्रह


प्रचण्ड र ली झान्सु

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष लि झान्सुसंग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका परियोजना मार्फत भइरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउन आग्रह गरेका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ली नेतृत्वको प्रतिनिधि मण्डलसँग शिष्टाचार भेटवार्ताका क्रममा बीआरआई परियोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएका हुन् ।

अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरे ।

सो अवसरमा उनले नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तात्काल खोल्न आग्रह गरे । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरे ।

भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ । भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !