१२ जेष्ठ २०८१, शनिबार

ओलीको आपत्ति : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?


केपी शर्मा ओली बिराटनगर फाइल फोटो

मोरङ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आदेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने हो ? भन्दै आपत्ति जनाएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीको राजीनामा माग्ने प्रचण्डको अभिव्यक्तप्रति आपत्ति जनाएका हुन् ।

पोखरा विमानस्थलमा प्रेस सेन्टर कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्ने नभए अदालत जाने धम्की दिएपछि ओलीको यस्तो प्रतिक्रिया बहिर आएको हो ।

ओलीले राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता गठबन्धनले उदण्डता देखाएको बताएका छन् । उनले अहिलेको सरकार कसको नीतिमा चल्छ भन्दै प्रश्न गर्नुको साथै अस्थिरता मच्चाएर आफ्नो दुनो सोझ्याउनेहरुले सरकार चलाइरहेको आरोप समेत लगाए ।

ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन् । उनले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले भने, “यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ ।” उनले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाए । उनले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गरे ।

ओलीले संसद् बहस र विधिका आधारमा चल्नु पर्दछ भन्दै व्यक्तिले संसद् चलाउन खोज्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राखे । ओलीले निर्वाचन मिति घोषणा भइसकेका अवस्थामा सरकारले कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत कार्य भएको बताए ।

उनले निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र निर्वाचनका लागि प्रशासन सञ्चालनको जिम्मा आफ्नो हातमा लिनुपर्ने र न्यायाधीशमार्फत निर्वाचन परिचालन गर्नुपर्ने सुझाव दिए ।

यो पनि पढ्नुहोस्

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ नभए अदालत जान्छौं : प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !