६ बैशाख २०८१, बिहिबार

राष्ट्रिय सभाबाट ‘कारागार विधेयक, २०७९’ पारित


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘कारागार विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट प्राप्त ‘कारागार विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । कारागार विधेयकलाई बैठकको सर्वसम्मतीले पारित गरेको हो ।

उक्त विधेयकलाई पारित गरिनु पुर्व बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित विधेयक उपर छलफल भई छलफलमा उठेका प्रश्नहरुको गृहमन्त्री खाणले जवाफ समेत दिएका थिए ।

आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गर्दै विधेयकलाई छलफलको लागि समितिमा पठाइएको हो ।

बैठकले शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले पारित गरेको हो ।

बैठकले ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ती दुई विधेयकहरु माथि विचार गरियोस् भन्ने छुट्टाछुट्टै प्रस्तावहरु प्रस्तुत गरेका थिए ।

दुबै विधेयकहरु उपर बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री शर्माले जवाफ समेत दिए पछि ती दुबै विधेयकलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको हो ।

यसैबीच, राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदरुले शुन्य समयमा बोल्दै सभाध्यक्ष मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)की सांसद दिलकुमारी रावल थापा पार्वतीले अधिराज्यभरका सरकारी विद्यालयका लेखापालहरु लामो समय देखि तहअनुसारको आफ्नो सेवा, सुविधा र पारिश्रमिकको व्यवस्था गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सभाध्यक्ष मार्फत सरकारसँग माग गरेकी थिइन् ।

उनले मिटरव्याजी पीडितहरु अहिले सडकमा रोइरहेका र सयौं नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाएर अमेरिका पठाउने भन्दै रकम असुली भएको बिषयमा प्रशासनमा उजुरी पर्दा समेत कुनै चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

शुन्य समयमा मनोनित सांसद डा.बिमला राई पौड्यालले नेपाल सरकारका एक जना मन्त्रीले एउटा सुरक्षा गार्डलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएकाले सम्बन्धीत मन्त्रीले सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताइएकी थिइन् । उनले यस्तो किसिमको घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण समेत गराइन् ।

शुन्य समयमा सांसदहरु अनिता देवकोटा र नन्दा चपाईंले पनि बोलेका थिए । राष्ट्रिय सभाको अर्को बैठक यही भाद्र २६ गते मध्यान्ह १२ बजेर ५९ मिनेटमा डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !