१३ बैशाख २०८१, बिहिबार

शिक्षालाई उत्पादनमुखी बनाउन सीप र आर्थिक विकाससँग जोडौं : प्रचण्ड


प्रचण्ड

महोत्तरी । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षालाई उत्पादनमुखी बनाउन सीप र आर्थिक विकाससँग जोड्नु पर्ने बताएका छन् ।

आज सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशका वर्तमान शैक्षिक परिपाटीलाई विश्व स्तरको सीप र आर्थिक विकाससँग जोडिनुपर्ने आवश्यक रहेको बताएका हुन् ।

उनले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताउदै समाजवादको निर्माण नै शिक्षा भएको स्पष्ट पारे । समाजवाद यात्राको चेतना नै शिक्षा भएकाले सोही अनुसारको शिक्षा जरुरी हुने अध्यक्ष प्रचण्डले बताए ।

प्रचण्डले नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्नेमा जोड दिएका छन् । उनले निर्मल लामा बहुप्राविधिक शिक्षालय मधेश प्रदेशमा मात्र सीमित नभई यसले देशभरिकै शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

प्रचण्डले सम्मृद्धिको प्रमुख आधार नै शिक्षा भएको बताए । उनले शिक्षा क्षेत्रलाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !