१४ बैशाख २०८१, शुक्रबार

चोलेन्द्रको स्वीकारोक्ति : रञ्जन कोइरालाको मुद्दा फैसलाबारे मलाई प्रायश्चित छ


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित लागेको स्वीकार गरेका छन् ।

सिंहदरवारस्थित महाभियोग सिफारिस समितिको बैठकमा तेस्रो दिन बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले उक्त मुद्दामा विवेक प्रयोग गरेको दावी गरेपनि यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताएका छन् ।

श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराले ८ वर्षमा झारेका थिए । पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरुलाई ख्याल गरेर २० वर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको उनले जिकिर समेत गरे ।

जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक भएको र कुनै सत्यता नभएको जिकिर गरेका छन् । उनले महाभियोग भ्रामक र निर्थक रहेको दावी गरेका हुन् ।

उनले न्यायिक नियुक्ति, सरुवा र काजमा एकरत्ती पनि आफू नचुकेको दावी गरेका छन् । उनले संविधानले तोकेको दायित्व र कर्तव्यबाट आफू एक इन्च पनि बाहिर नगएको जिकिर गरेका हुन् ।

आज समिति सदस्यहरुले जबरासँग पाँच वटा प्रश्न सोधेका थिए । आज तेस्रो दिन १ घण्टा बयान लिएर सकिएको छ । महाअभियोग सिफारिस समितिको अर्को बैठक आगामी २६ गते बस्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !