काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । सिट बाँडफाँटमा सहमति जुटन नसकेको बेला गठबन्धनको बैठक बस्नुअघि बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बालुवाटारमा आज बिहान देउवा र प्रचण्डबीच भएको छलफलमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पनि सहभागी भएको बुझिएको छ । आज बिहान शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे छलफल भएको बताइएको छ ।
गठबन्धनमा आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तालमेल गरेर जाने निर्णय भएपनि सिट बाँडफाटमा सहमति जुट्न सकेको छैन ।
आज बस्ने गठबन्धनको बैठकमार्फत संघ र प्रदेशको सिट संख्या टुग्याएर अघि बढ्ने प्रचण्डले बताएका थिए । दुई नेताको छलफलपछि कार्यदल र गठबन्धनको बैठक बस्ने बताइएपनि समय तय भई नसकेको बुझिएको छ ।
गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका छन् । बिहीबार बसेको बैठकमा दलहरुबीच सहमतिका विभिन्न खाकामा छलफल भएपनि सहमति जुट्न सकेको थिएन ।
यता देउवाले भने गठबन्धनका दललाई सम्मानजनक सिट दिने आश्वासन दिएका छन् । देउवा र प्रचण्डको निर्देशनपछि कार्यदलले सहमतिको खाका तयार गर्ने र आजै दिउँसो ३ बजे बस्ने गठबन्धनको निर्णायक बैठकमा सिट बाँडफाँटको टुंगो लगाइने तयारी गरिएको छ ।