७ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफल जारी


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको छ । राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता विधेयक-२०७९ माथि दोस्रो दिन छलफल जारी रहेको हो ।

राष्ट्रियसभाको हिजोको दोस्रो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाइएको ‘नेपाल नागरिकता (पहिलो संशोधन), २०७९’ लाई पुनः पारित गर्ने कार्यसूची रहेपनि विधेयकमाथि सांसदहरुले बोल्नेक्रम नसकिएकापछि आजका लागि बैठक बोलाइएको हो ।

विधेयकमाथि छलफल सकिएपछि आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाडले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रियसभाको यही भाद्र १२ गतेको बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नागरिकता विधेयकका बारेमा सदनलाई जानकारी गराइएको थियो भने सोही दिन बसेको दोस्रो बैठकले पुनर्विचारका लागि आएको नागरिकता विधेयकलाई पुनर्विचारको लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको थियो ।

विधायन समितिले पनि उक्त विधेयक हुबहु पारित गरी राष्ट्रियसभामा पठाएपछि विधेयकमाथि छलफल जारी भएको हो । अब राष्ट्रिय सभाबाट विधेयक पारित भए प्रमाणीकरणका लागि पुन : राष्ट्रपतिकहाँ जानेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भए विधेयकले कानुनको रुप लिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !