१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाबाट पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक स्वीकृत


राष्ट्रियसभा बैठक

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ लाई स्वीकृत गरेको छ । बैठकमा कृषि तथा पशुपन्छि विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयक उपर बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको कृषिमन्त्री यादवले जवाफ दिए पछि उक्त विधेयकलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको हो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयक उपर संशोधन राख्न चाहने सांसदहरुले राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा आफ्नो संशोधन दर्ता गराउन सक्ने व्यहोरा सभालाई जानकारी गराएका थिए ।

बैठकले शहरी क्षेत्र सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले ‘शहरी क्षेत्र सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव माथि सामान्य छलफल भई छलफलमा उठेका प्रश्नहरुको यातायातमन्त्री राईले जवाफ समेत दिएका पछि उक्त संशोधनलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

आजको बैठकले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार गरी पुनः पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयकलाई संशोधन स्वीकार सहित सर्वसम्मतीले पारित गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !