काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । महाअभियोग सिफारिस समितिको आज केही समयअघि सुरु भएको बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन सुरु गरिएको हो ।
सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा जबरासंग बयान लिन सुरु गरिएको हो । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेपनि हिजोको बैठकमा जबरालाई ५ वटा प्रश्न सोधिएको थियो । समितिले हिजो बुधबारबाट जबरासँग बयान लिन सुरु गरेको थियो ।
हिजो बुधबार जबराले चार घण्टा बयान दिएका थिए । बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भइसकेको दावी गर्दै संसदको सम्मानका लागि मात्र बयान दिन आएको बताएका थिए । उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए ।
जबराले आफू पछाडिको व्यक्ति दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको जिकिर गरेका थिए । उनले महाभियोग प्रस्ताव ल्याउने नै भए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ल्याउनुपर्थ्यो तर गठबन्धनले किन ल्यायो ? भनेर प्रतिप्रश्न गरेका थिए ।
११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।
यो पनि पढ्नुहोस्
चोलेन्द्रको प्रतिप्रश्न- महाभियोग एमालेले ल्याउनुपर्थ्यो, गठबन्धनले किन ल्यायो ?
चोलेन्द्रको जिकिर : कार्कीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गर्दा महाअभियोग ल्याइयो
चोलेन्द्रको दावी : महाअभियोग स्वत: निष्क्रिय भइसक्यो, संसदको सम्मानका लागि आएको हुँ