१२ असार २०८१, बुधबार

महाअभियोग समितिको बैठक बस्दै : चोलेन्द्रसँग आज पनि बयान लिइँदै


चोलेन्द्रशमशेर जबरा फाइल फोटो

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । महाअभियोग सिफारिस समितिको आज पनि बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन लागिएको हो ।

हिजो बुधबारबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बोलाइएको छ । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेपनि हिजोको बैठकमा जबरालाई ५ वटा प्रश्न सोधिएको थियो ।

हिजो बुधबार जबराले चार घण्टा बयान दिएका थिए । बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भइसकेको दावी गर्दै संसदको सम्मानका लागि मात्र बयान दिन आएको बताएका थिए । उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए ।

जबराले आफू पछाडिको व्यक्ति दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको जिकिर गरेका छन् । उनले महाभियोग प्रस्ताव ल्याउने नै भए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ल्याउनुपर्थ्यो तर गठबन्धनले किन ल्यायो ? भनेर प्रतिप्रश्न गरेका थिए ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !