काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी भदौ २२ गतेभित्र साँसदका उम्मेद्वार सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी एमाले केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।
एमालेका मातहतका कमिटीले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि भदौ २२ गतेभित्र उम्मेद्वार सिफारिस गर्ने निर्णय भएको हो । एमालेका स्थानीय कमिटीहरुले २२ गतेभित्र समानुपातिक साँसदको नाम पनि सफिारिस गर्नुपर्ने भएको छ ।
सचिवालय बैठकले भदौ २० गतेभित्र सिफारिस गरिसक्ने निर्णय गरेपनि केन्द्रीय कमिटीको बैठकले दुई दिन थपेर २२ गतेसम्ममा सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई आफैंले आफैंलाई उम्मेद्वार घोषणा गर्दै नहिड्न निर्देशन दिएका छन् । अध्यक्ष ओलीले यस्तो किसिमको प्रवृतिले आम कार्यकर्तामा अराजकता र निराशा दुवै बढ्ने बताए ।