४ जेष्ठ २०८१, शुक्रबार

माधव नेपालको आशंका : राष्ट्रपतिको सक्रियताले अनिष्ट त हुन लागेको होइन ?


माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले के गर्न खोजेको भन्ने नबुझिएकोले आशंका पैदा भएको बताएका छन् ।

आफ्नो पार्टी एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता भएको पार्टी पुनर्गठन दिवसको अवसरमा आज बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राष्ट्रपतिको सांकेतिक सक्रियताले ‘कतै अनिष्ट त हुन लागेको होइन ?’ भन्ने प्रश्न उठेको बताएका हुन् ।

आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठकमा त्यसबारे पनि छलफल भएको उनले जानकारी दिए ।प्रतिगामी दरबारवाला, राजावादी शक्ति कति क्रियाशील छन् भन्नेमा आफूहरूले हेरिरहेको पनि उनले बताए ।

राष्ट्रपति भण्डारीले हिजो बुधबार प्रधानसेनापतिसहित पूर्वप्रधानसेनापतिहरूका साथै आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारीसंग परामर्श गरेकी थिइन् । हिजो राष्ट्रपति भण्डारीले प्रधानसेनापति, पूर्वप्रधानसेनापतिहरूसहित करिब ७० जनालाई रात्री भोजमा बोलाएर राष्ट्रपतिले राजनीतिक संवादका साथै संसद्मा विचाराधीन नागरिकता विधेयकका विषयमा पनि छलफल पनि गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् ।

छलफलका क्रममा सेनाका पूर्व अधिकारीहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !