११ बैशाख २०८१, मंगलबार

प्रदीप गिरीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसका दिवङ्गत नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं सांसद प्रदीप गिरीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकमा काँग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सो गरेको हो ।

केन्द्रीय समितिको उक्त बैठकले पूर्वकेन्द्रीय सदस्य तथा सांसद गिरीको शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको हो । काँग्रेसले भाद्र ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने भएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भाद्र ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार भदौ ६ गते सोमबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिन (भाद्र १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १६ गते केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

यी हुन् आकस्मिक बैठकले पारित गरेको शोक प्रस्ताव र निर्णयहरु

(१) समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, नेपाली कांग्रेसका निष्ठावान त्यागी नेता, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका माननीय सदस्य बहुआयामिक व्यक्तित्व श्री प्रदिप गिरीको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा २०७९ भाद्र ४ गते राति ९ः३० बजे भएको निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ ।

पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट वि.सं. २००४ साल असोज २४ गते गोवर्धन पुजाका दिन सिरहा जिल्लाको वस्तिपुरमा जन्मनु भएका गिरी भारतको जवाहरलाल नेहरु विश्व विद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका, समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत सम्बन्ध एवं नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो ।

राजनैतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याता उहाँ ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दूमा राख्नु हुन्थ्यो । नेपाली कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनु भयो ।

नेपालमा राजनैतिक दलहरु प्रतिबन्धित भएको समय बनारसबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भई पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर संघर्षरत रहनु भयो ।

सबै किसिमका निरंकुशता विरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरुमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो । उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षी बीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । महान दार्शनिक नेता प्रदिप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँप्रति उच्च सम्मान प्रकट गर्दै यस दुःखद घडीमा उहाँको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल परिवारजन एवं समस्त पार्टी सदस्यहरुमा हार्दिक समवेदना प्रकट गर्दछ ।

(२) दिवंगत नेता प्रदीप गिरीप्रति उच्च सम्मान र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक २ मिनेट मौन धारण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।
(३) नेपाली कांग्रेसका नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज भाद्र ५ गते बिहान ११ः३० देखि २ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरको प्राङ्गणमा राखिनेछ । तत्पश्चात पशुपति आर्यघाटमा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

(४) दिवंगत नेता श्री प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ-
(क) २०७९ भाद्र ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने ।
(ख) २०७९ भाद्र ६ गते सोमबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने ।
(ग) स्वर्गारोहणको १३ औं दिन (भाद्र १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने ।
(घ) स्वर्गारोहणको १३ औं दिन (भाद्र १६ गते) मा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !