७ बैशाख २०८१, शुक्रबार

कुन्ती शाही र रेखा थापाले अचानक एमाले अध्यक्ष ओलीलाई भेटेपछि…


कुन्ती शाही, केपी ओली र रेखा थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

राप्रपा महाधिवेशनमा महामन्त्री पदमा एक-अर्काका प्रतिस्पर्धी रहेका यी दुई नेतृहरू आखिर एकाएक पार्टीलाई नै थाहै नदिई आखिर एमाले अध्यक्ष ओलीलाई किन भेटे भन्ने चासो बढेको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले गरेको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टीलाई नै जानकारी नगराई दुई नेतृहरूले ओलीलाई भेटेपछि राप्रपाले असन्तुष्टि जनाएको छ । यता ओलीको सचिवालयले भने उनीहरुको भेटलाई नितान्त व्यक्तिगत भएको जनाएको छ ।

बुधबार अध्यक्ष ओलीलाई भेट्न रेखा र कुन्ती बालकोट पुगेका थिए । भेटवार्ता उनीहरूबीच समसामयिक राजनीति र चुनावबारे छलफल भएको बताइएको छ । यस्तै उनीहरूबीच प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्वका विषयमा कुराकानी भएको छ ।

उनीहरूले बालकोटमा करिब डेढ घण्टा बिताएर फर्किएका थिए । राप्रपाको महाधिवेशनमा कुन्ती पूर्वअध्यक्ष कमल थापाको समूहबाट महिलातर्फको महामन्त्री पदमा विजयी भएकी थिइन् भने रेखाले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनको समूहबाट महिलातर्फको महामन्त्री पदमा उम्मेद्वारी दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !