६ बैशाख २०८१, बिहिबार

देउवा र ठाकुरबीच सहमति : लोसपा सरकारमा सहभागी हुने


लोसपाले बुझायो ११ बुँदे ज्ञापनपत्र

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्त ठाकुरबीच आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सहमति बालुवाटार विशेष स्रोतले बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री देउवासँग बालुवाटारमा लोसपाका नेताहरूबीच भएको छलफलमा लोसपा सरकारमा सहभागी हुने सहमति भएको हो । हाल जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि मन्त्रालयको भागबण्डा मिलाउने पनि सहमति भएको छ ।

आज साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

“नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ”, उनले भने ।

प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक भएको नेता महतोले जानकारी दिए । नेता महतोले पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको बताए ।

भेटवार्तामा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागिता थियो ।

निर्वाचनमा तालमेलका लागि प्रधानमन्त्री देउवासँग यसअघि पनि लोसपाले विभिन्न चरणमा छलफल गर्दै आएको छ । नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पुगिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !