७ बैशाख २०८१, शुक्रबार

चीन ताइवान तनावलाई नियालिरहेका छौं, नेपाल एक चीन नीतिको पक्षमा छ : परराष्ट्र मन्त्रालय


परराष्ट मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले चीन ताइवान तनावको विषयलाई नजिकबाट नियालिरहनुका साथै नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पारेको छ ।

शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले ताइवान क्षेत्रमा उत्पन्न परिस्थिति नजिकबाट नियालिरहेको र नेपालले सधैं ‘एक चीन नीति’को समर्थन गरेको बताएकी हुन् ।

मन्त्रालयले अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको हो । मन्त्रालयले नेपाल एक शान्तिपूर्ण राष्ट्र भएकाले अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको कुरा जानकारी गराएको हो ।

अमेरिका सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो सर्वभौमिकता माथिकै आक्रमण भन्दै कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ । ताइवानको तटको नजिकै विभिन्न ५ दिने युद्ध अभ्यास सुरु गरेको छ ।

यसैबीच परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ (अगस्ट ९ देखि ११) गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन् । उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेको मन्त्रालयले आज जनाएको हो ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेट भएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ । भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !