१५ जेष्ठ २०८१, मंगलबार

मोदीलाई स्वागत गर्छौं, सरकारले भ्रमणलाई पारदर्शी बनाउनुपर्छ : साउद


anpi saaud

२४ वैशाख, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन नेपाल भ्रमणलाई आफ्नो पार्टीले स्वागत गर्ने बताउँदै भ्रमण सफल बनाउने विश्वास दिलाए । यद्धपी उनले भ्रमण सफल बनाउन कुनै कसर बाँकी नराख्ने काम चाहीँ सरकारको भएको प्रतिक्रिया दिए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता साउदले मोदीको भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा थप हार्दिकता आउने पनि विश्वास दिलाए । उनले भने,‘भ्रमण सफल बनाउनको लागि सरकारले यथेष्ट गृहकार्य गर्नुपर्छ, सायद गरेको होला पनि, भ्रमणलाई उच्चतम हितमा प्रयोग गर्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता साउदले मोदीको भ्रमण औपचारिक रुपमा काठमाडौंबाट भएको भए राम्रो हुनेथियो भन्ने प्रतिक्रिया दिए । उनले थपे,‘औपचारिक भ्रमण काठमाडौंबाट सुरु भएको भए राम्रो हुनेथियो, काठमाडौंपछि जनकपुर हुँदै मुक्तिनाथ गएको भए राम्रो हुनेथियो, किनकी केन्द्रीय सरकार त काठमाडौंमा छ, जे भएपनि उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’

यसअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि यसपटक केहीपनि नयाँ सम्झौता नहुने भनेर गएको भएपनि नेपाल र नेपालीहरुलाई झुक्याएको उनको गुनासो थियो । उनले थपे,‘भारत उड्नुअघिसम्म उहाँले यसपटक नयाँ केही हुँदैन भन्नुभएको थियो, तर उहाँले जलमार्ग र रेलमार्ग लगायतका सम्झौता गर्नुभयो, उहाँले हामीलाई झुक्याउनुभयो ।’

मोदीको भ्रमणलाई नेपाल सरकारले पारदर्शी बनाउनुपर्ने पनि उनको सुझाव छ । उनले थपे,‘भ्रमणबाट नेपाली जनताले के–के पाए ? अथवा के के दिए ? अथवा राष्ट्रिय हितमा काम भयो कि भएन भन्नेबारे सरकारले पारदर्शीता अपाउनुपर्छ।’ त्यतिमात्रै नभएर मोदी भ्रमणबारे जारी संसदलाईपनि यथेष्ट जानकारी वर्तमान सरकारले गराउनुपर्ने उनले जिकिर गरे ।

उनले नेपालमा हुँदा ठूला कुरा गर्ने दिल्लीमा जाँदा लम्पसार हुने अथवा ‘बोनलेस’ हुन नहुने सुझाव प्रधानमन्त्री ओलीलाई दिए । भारतसँग रहेको डरलाग्दो व्यापार घाटा घटाउनको लागि सरकारले आफ्नो संभावनाका क्षेत्रहरु पहिल्याउनुपर्ने पनि नेता साउदको सुझाव छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !