१४ असार २०८१, शुक्रबार

अन्तिमपटक प्रधानमन्त्री भएर देशले पछिसम्म सम्झिनलायक काम गर्ने मन छ : प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिमपटक प्रधानमन्त्री भएर देशले पछिसम्म सम्झिनलायक काम गर्ने आफ्नो मन भएको चाहना प्रकट गरेका छन् ।

आज शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको दोहोर्याएका छन् । प्रचण्डले घुमाउरो भाषामा पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफ्ना लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे । उनले आफ्नो राजनीतिको ‘अन्तिम इनिङ्स’ हुनसक्ने बताउँदै पछिसम्म सम्झिनलायक काम गर्ने योजना रहेको पनि बताएका हुन् ।

प्रचण्डले आफ्ना लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए । उनलेले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गरे ।

उनले आगामी निर्वाचनबाट माओवादी केन्द्र वामपन्थी दलमध्ये पहिलो हुने लक्ष्य रहेको बताए । स्थानीय तह निर्वाचनमा पार्टीको आन्तरिक विवादका कारण जितेका ५० स्थानीय तह गुमाउनुपरेको भन्दै उनले गुनासो समेत गरे ।

उनले मुलुकमा नै पहिलोपटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताएका छन् । उनले माओवादीले नै किसानलक्षित बजेट प्रस्तुत गरिएका कारण प्रतिक्रियावादी, बुर्जुवा र जनविरोधी तत्व सल्बलाएर हुने/नहुने आरोप लगाएको बताए ।

अध्यक्ष प्रचण्डले माओवादीमाथि अनेकन आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले आफ्नो पार्टीबिना मुलुकको विकाससमेत सम्भव नभएको दावी गरे । उनले भने, “हामीले अर्थतन्त्रमा पनि किसानतिर फर्केको उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको नयाँ बजेट प्रक्रियातिर देशलाई लगेका छौँ । यसबाट प्रतिक्रियावादी, बुर्जुवा र दलालहरू अत्तालिएका छन् । हामीमाथि भए÷नभएको आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र गरिएको छ । त्यसको भण्डाफोर गर्नु आवश्यक छ ।”

अध्यक्ष प्रचण्डले माओवादीलाई आरोपित गर्ने प्रयास भएपछि त्यसको छानबिन समिति बनेको र समितिले कुनै त्रुटि भएको छैन भन्ने प्रतिवेदन बुझाइसकेकोसमेत उल्लेख गरे । आगामी तीन महिना माओवादीका लागि अझै चुनौतीपूर्ण रहेको भन्दै उनले सङ्घीय र प्रदेशसभाको निर्वाचनमा श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए ।

प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी पास गराउन र एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन पनि माओवादीकै कारण सम्भव भएको जानकारी दिए । आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको भन्दै उनले देशको राजनीतिक, सामाजिक एवं आर्थिक विकासका लागि हरतरहले नेतृत्व गर्न सक्ने तागत माओवादीसँग मात्रै रहेको स्पष्ट पारे ।

उनले सङ्घीय र प्रदेशसभाको निर्वाचनका लागि तीनमहिने चुनावी अभियान सञ्चालन गर्न लागिएको पनि जानकारी दिए । तीन महिना अभियानको रूपमा जाने हो भने देशमा नयाँ खालको राजनीतिक परिवर्तन ल्याउन सकिन्छ भन्ने आत्मविश्वास पैदा हुने बताए । कार्यक्रममा प्रदेश समन्वय समितिका पदाधिकारीले गत स्थानीय तहको निर्वाचनमा खेलेको भूमिकाका बारेमा जानकारी गराएका थिए ।

यो पनि पढ्नुहोस्

चुनावपछि देउवा राष्ट्रपति, प्रचण्ड र आरजू आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको बस्नेतको खुलासा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !