३० असार २०८१, आइतबार

चुनावपछि देउवा राष्ट्रपति, प्रचण्ड र आरजू आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको बस्नेतको खुलासा


महेश बस्नेत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद एवं नेता महेश बस्नेतले आगामी संघीय निर्वाचनपछि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति, पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसकी नेत्री एवं प्रधानमन्त्री पत्नी डा. आरजू राणा देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको खुलासा गरेका छन् ।

एमाले निकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै बस्नेतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने बाटोमा रहेको दाबी गरेका छन् । उनले आगामी निर्वाचनमा सँगै मिलेर जाने र त्यसपछि देउवा राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको दाबी गरेका हुन् ।

उनले प्रचण्ड र आरजूलाई आलोपालो प्रधानमन्त्री बन्ने सम्मको सहमति भएको कुराहरू बाहिर आएको दाबी गरेका छन् । यस विषयमा प्रचण्ड र आरजुबीच भारतको राजधानी दिल्लीमा भएको भेटवार्तामा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हल्ला चलेको थियो ।

यस्तै आज मात्र प्रचण्डले घुमाउरो भाषामा पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । आज शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको दोहोर्याएका हुन् ।

आफ्ना लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने उनले विश्वास व्यक्त गरे । उनले आफ्नो राजनीतिको ‘अन्तिम इनिङ्स’ हुनसक्ने बताउँदै पछिसम्म सम्झिनलायक काम गर्ने योजना रहेको पनि बताए ।

तर यसअघि अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणबारे अनावश्यक भ्रम फैलाएको भन्दै सचेत हुन आग्रह गरेका थिए । साउन ७ गते शनिबार जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डलाई सञ्चारकर्मीले दिल्लीमा आरजुलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने सहमति भएको भन्ने हल्ला गलत भएको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !