७ पुस २०८१, आइतबार

लम्पसारवादका विरुद्ध राप्रपाले आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा कोणसभा गर्दै


राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्दै छ । राप्रपाले आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा कोणसभा गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले सरकारले बढाएको महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध भन्दै आज देशव्यापी संघर्षको कार्यक्रम गर्न लागेको हो । राप्रपाले पार्टीका सवै नेता-कार्यकर्ताहरूका साथै नागरिकलाई कोणसभामा सहभागी हुन आह्वान गरेको छ ।

राप्रपाले सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ। पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेर अहिले दोस्रो चरणको आन्दोलन गरिएको श्रेष्ठले बताएका छन् ।

राप्रपाले यसअघि गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रष्टाचारको अन्त्य, महंगी नियन्त्रण लगायत विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको थियो ।

२२ बुँदे ज्ञापनपत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र सम्बृद्धिको निमित्त पनि राप्रपाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो । सरकारले सोही माग पुरा नगरेको भन्दै राप्रपाले संघर्षको कार्यक्रम सुरु गर्दै सडकमा उत्रेको हो ।

काठमाडौंलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो । माग सम्बोधन गरिदिन भन्दै दबाबस्वरूप असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्षको कार्यक्रम गरेको थियो।

गत ५, ६ र ७ गते राजधानीमा बसेको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महँगी नियन्त्रण नहुँदा, किसानलाई मल उपलब्ध गराउन नसक्दा र करको दर परिवर्तन गरी सीमित व्यवसायीलाई फाइदा दिलाएको आरोप लगाउँदै राप्रपाले गठबन्धनको सरकार असफल भएको दाबी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !