११ बैशाख २०८१, मंगलबार

अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसंग भेट गर्दै


शेरबहादुर देउवा र डोनाल्ड लु

काठमाडौं । नेपालको दुई दिने नियमित भ्रमणका क्रममा हिजो काठमाडौँ हिजो अपरान्ह आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग भेट गर्दै छन् ।

भारतको नयाँदिल्ली हुँदै हिजो काठमाडौं ओर्लिएका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लुको उच्चस्तरीय राजनीतिक भेटवार्ता आजबाट सुरु हुने भएको हो । यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार मन्त्री लुले अमेरिकी विदेशमन्त्रीले वार्षिकरुपमा प्रदान गर्ने ‘अवार्ड फर कर्पोरेट एक्सलेन्स’ (एइसी) हिजो बिहीबार साँझ वितरण गरेका छन् । नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णाले उक्त अवार्ड पाएको छ ।

अमेरिकी दूतावासका अनुसार पूर्णाले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिको सशक्तीकरण गर्दै नीतिपरक उत्पादन प्रवर्द्धन गर्छ । लुले बिहीबारै व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गरेका छन् ।

उनको यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने दूतावासले जनाएको छ ।

साथै उनले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्ने छन् । दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञका रुपमा विविध विषयमा छलफलका लागि उनले यस क्षेत्रको भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको नेपाल भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । यसअघि लूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन हुनुअघि २०७८ मंसिर १ गते पनि नेपालको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका सम्बन्धमा दुवै पक्षलाई अनुकूल हुने गरी उपयुक्त समय खोजिएको नेपाल सरकार र अमेरिकी सरकारले जनाएका छन् । देउवाले गत असारमै अमेरिका जाने बताइए पनि हालसम्म भ्रमण टुंगो नलागेको विषयमा परराष्ट्र मन्त्रालय र अमेरिकी दूतावासले अनुकूल हुने मिति खोजिरहेको दाबी गरेका हुन् ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि लु नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा अस्ति मात्र संसदीय समितिले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको थियो ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीमा नेपाल सहभागी नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको थियो ।

यो पनि पढ्नुहोस्

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आइपुगे काठमाडौँ

सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण नियमित भएको अमेरिकी दूतावासको जिकिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !