१४ बैशाख २०८१, शुक्रबार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आइपुगे काठमाडौँ


डोनाल्ड लु

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन् । नेपालको दुई दिने नियमित भ्रमणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँ आज अपरान्ह काठमाडौँ आइपुगेका हुन् ।

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने सम्भावना रहेको छ ।भारतको नयाँदिल्ली हुँदै काठमाडौंमा ओर्लिएका लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भोलि शुक्रबार भेट गर्ने कार्यक्रम तय भएको छ । मन्त्री लुले नेपालमा बसाईका क्रममा उद्योगी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटने दूतावासले जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार मन्त्री लुले अमेरिकी विदेशमन्त्रीले वार्षिकरुपमा प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सलेन्स (एइसी)’ वितरण गर्ने छन् । नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णाले उक्त अवार्ड पाउँदैछ ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको नेपाल भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । यसअघि लूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन हुनुअघि २०७८ मंसिर १ गते पनि नेपालको भ्रमण गरेका थिए ।

उनको यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने दूतावासले जनाएको छ ।

साथै उनले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्ने छन् । दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञका रुपमा विविध विषयमा छलफलका लागि उनले यस क्षेत्रको भ्रमण गरेका हुन् ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि लु नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा हिजो संसदीय समितिले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीमा नेपाल सहभागी नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो ।

यो पनि पढ्नुहोस्

सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण नियमित भएको अमेरिकी दूतावासको जिकिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !