काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भने,“काठमाडौँमा थ्रुप्रिएका फोहरका कारण हिँडिसाध्य छैन, अहिले हैजा पनि फैलिएको भनेर प्रचार भइरहेको छ, काठमाडौँवासीले फोहरसँगै पौठेजोरी खेलिरहेको अवस्थामा कहिलेसम्म यस्तो हुने हो ?” फोहरको वर्गीकरण गर्नसक्ने हेटौँडामा निर्माण गरिएको मेसिनको प्रयोग गर्न सकिने उनको सुझाव थियो ।
जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले संविधानले व्यवस्था गरेको समावेशीता लागू हुन नसकेको टिप्पणी गर्दै सङ्घीयता कार्यान्वयनमा जोड दिइन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नागरिकतासम्बन्धी विधेयक ल्याउने विषयमा ढिला नगरौँ भनिन् ।
नेकपा (एमाले) का सांसद दिलकुमारी रावलले जनताको विषयप्रति सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले राजनीतिक दलका नेतालाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा पनि देशको निम्ति गम्भीरतापूर्वक सोच्न आग्रह गरिन् । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले व्रिटिस गोर्खामा कार्यरत नेपालीको समस्याबारे सरकारको ध्यानाकर्षण गराइन् ।
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा बढ्दै गएको महँगीको बारेमा सरकारले अनुगमन गरेर समस्या समाधान गर्नुपर्ने माग गरिन् । नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले भने, “राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारी एम अधिकारी हो भन्ने चर्चा सुनिएको छ, यसबारे खोजी किन हुन सकिरहेको छैन, को हुन एम अधिकारी ? ।” नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले दलहरुले महिलालाई आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट दिनुपर्ने माग गरिन् ।