१२ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभाको उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने


नेकपा (एमाले)

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख पदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि उम्मेदवारी दिने भएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारबारे छलफल जारी रहेको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने अझसम्म टुंगो लागिसकेको छैन ।

उनले अघि भने, ‘हाम्रो मात्र भोटले जितिँदैन, त्यसैले अरु दलसँग पनि कुराकानी भइरहेको छ ।’ उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा निर्वाचन हुनेछ ।

पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुख पदको लागि आज उम्मेदवारी दिएकी छन् । यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकेका छन् ।

आज असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

भोलि असार ३१ गते शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !