२० जेष्ठ २०८१, आइतबार

सत्ता गठबन्धनको तयारी : पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने


पुष्पा भुसाल

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन पर्सि असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकेका छन् ।

भोलि असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

असार ३१ गते शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

उपसभामुख उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । काँग्रेसमा उपसभामुखका लागि भुसाल बाहेक डिला संग्रौला लगायतले पनि दाबी प्रस्तुत गरेको बताइएको छ । सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सभामुखमा माओवादी केन्द्रका तर्फबाट सांसद निर्वाचित अग्निप्रसाद सापकोटा छन् । सभामुखमा पुरुष भएकाले उपसभामुखमा महिला मात्रै उम्मेदवार हुन पाउने छन् । स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धनले जसलाई उम्मेदवार बनाउँछ उही उपसभामुख चुनिने पक्का छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि गठबन्धनको सहमतिअनुसार आफ्नो पार्टीले उपसभामुख पद पाउने जिकिर गरे । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा भने गठबन्धनको सहमतिअनुरूप आफ्नो दलले उपसभामुख पाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा हाल एमालेको ९८, काङ्ग्रेसका ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !