११ मंसिर २०८१, मंगलबार

पार्टीमा अन्तर्घातको घाउबाट मुक्त हुँदै आम निर्वाचनको तयारीमा एमाले


एमालेको सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा पार्टीभत्र देखिएको आरोप–प्रत्यारोप र आपसी आशङ्काको धङधङीबाट मुक्त भएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित हुन अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ ।

“असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तर्घातलाई कारबाहीका माध्यमबाट सम्बोधन गर्ने”, पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट मातहतका कमिटीलाई दिइएको निर्देशनमा भनिएको छ, “आपसी अन्तरविरोधका कारण कारबाहीको दायरा अनावश्यकरूपमा फराकिलो नहोस् भन्ने कुरामा विशेष सजगता अपनाउने । प्रमाणित र पुष्टि भएका अन्तर्घातका सीमित घटनामा विधि पुर्याएर बिना मोलाहिजा नगर्ने ।”

एमालेको सो अपानि–४ मा सत्ता गठबन्धन, पार्टीभित्रका समस्या र अन्तर्घातका बीच स्थानीय निर्वाचनमा लोकप्रिय मतमा एमाले अगाडि रहेका निर्वाचित पदमा दोस्रो हुन पुगेको स्वीकार गरिएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको नवौँ बैठक (२०७९ जेठ ३०) र दसौँ बैठक (असार १९) गतेका निर्णय पार्टीका तल्ला कमिटीलाई जानकारी गराउन जारी निर्देशनमा निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने तथा प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने भनिएको छ ।

सोका लागि यही असार मसान्तभित्र सबै पालिकाको निर्वाचन समीक्षा सम्पन्न गरी त्यसको प्रतिवेदन केन्द्रमा पठाइसक्ने, निर्वाचनको तयारी, परिचालन र मत रक्षामा कहाँ–कहाँ कमी रह्यो भन्ने निर्वाचन समीक्षाबाट निकालिएका निष्कर्षको सूची बनाएर विगतको कमीलाई नदोहोर्याउने सुनिश्चित गर्ने र स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषणसहित शक्ति सन्तुलनको अद्यावधिक समीक्षा गर्ने निर्देशनमा उल्लेख छ ।

यस्तै पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न स्थानीय निर्वाचनका क्रममा र त्यसभन्दा पहिले पनि रहेका असमझदारी रहेको भए खुलस्त छलफल, आलोचना–आत्मालोचना र अन्य विधिमार्फत समाधान गर्ने र पार्टी एकतालाई बलियो बनाउने, पार्टीभित्र उत्पन्न समस्यामध्ये कुन चाहिँ असमझदारी हो, कुन असहयोग हो र कुन चाहिँ अन्तर्घात हो भन्ने कुराको वस्तुनिष्ठ, निष्पक्ष र सन्तुलित पहिचान गर्ने एमालेको निर्णय रहेको छ ।

एमालेले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो भने आम निर्वाचनलाई ध्यानमा राखेर सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३२९, एमालेले २०६, नेकपा (माओवादी केन्द्र) ले १२१, जनता समाजवादी पार्टी (जसपा)ले ३०, नेकपा एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले ३१ पालिकामा प्रमुख-अध्यक्ष जितेका छन् ।

देशभर कूल निर्वाचित जनप्रतिनिधि सङ्ख्यामध्ये कांगे्रसले ४०, एमालेले ३४ र माओवादी केन्द्रले १४ प्रतिशत पदमा जित हासिल गरेका छन् । अघिल्लो निर्वाचनमा पहिलो स्थानमा रहेको एमालेले पालिकाका प्रमुख÷अध्यक्षले प्राप्त गरेको समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि एमाले पहिलो स्थानमा कायमै रहेको सो पार्टीको बुझाइ रहेको छ ।

एमालेले अघिल्लो निर्वाचनमा सदर कुल मतको एक तिहाई मत (३३%) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४%) वृद्धि गरेको छ । एमालेबाट चोइटिएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले चार प्रतिशत मात्र मत प्राप्त गरेको छ ।

स्थानीय पार्टी कमिटी र जनसङ्गठन परिचालन

सो पार्टीले जनसरोकारका विषयमा सबै स्थानीय पार्टी कमिटी र जनसङ्गठनले विरोध कार्यक्रम सञ्चालन र जनदबाब सृष्टि गर्ने पनि तय गरेको छ । एमालेले केन्द्रीय सल्लाहकार परिषद्लाई पूर्णता दिँदै विभिन्न केन्द्रीय विभागका सचिव पनि तोकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !