७ बैशाख २०८१, शुक्रबार

प्रदेश युवापरिषद् छिट्टै गठन हुन्छ : मुख्यमन्त्री राउत


लालबावु राउत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले युवाको समुचित व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै युवा परिषद् गठन गर्ने बताएका छन् । मधेस प्रदेश सरकारको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आजदेखि सुरु भएको प्रथम मधेस प्रदेश युवा महोत्सव २०७९ को उद्घाटनमा मुख्यमन्त्री राउतले युवा परिषद् गठन गर्ने तयारी भइरहेकोे जानकारी दिए ।

“हामीले युवापरिषद् गठन गर्न विगत दुई वर्षदेखि नै प्रयास गरिरहेका छौँ, यससम्बन्धी विधेयक पनि तयार भइसकेको छ”, मुख्यमन्त्री राउतले भने, “तर यो विधेयक अहिलेसम्म हाउसमा पठाउन सकिएको छैन, त्यो गएको भए अहिलेसम्म पास भएर काम अघि बढिसकेको हुन्थ्यो तर हामीले गर्न सकेनौँ ।” अब त्यो गठनको प्रक्रिया हामी छिट्टै अघि बढाउँछौँ ।”

विकास र समृद्धिको मूल आधार युवा भएकाले प्रदेशमै रोजगारी सिर्जना गरी युवालाई प्रदेशको विकास र समृद्धिको यात्रामा सहभागी गराउने पहल भइरहेको उल्लेख गर्दै उनले राज्यको गलत नीतिका कारण मुलुकमा उचित रोजगारीको व्यवस्थापन नहुँदा युवा खाडी मुलुकमा जान बाध्य भएको तर्क गरे ।

सरकार रोजगारी सिर्जना गर्न सकेमात्र बेरोजगारीको समस्या समाधान हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार कृषि, पर्यटन र उद्योगधन्धाका साथै स्वरोजगारका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर अघि बढेको बताए ।

“युवा सकारात्मक कदमले मात्र मधेस वा देशको विकास सम्भव छ”, मुख्यमन्त्री राउतले भने, “युवा देशको मूल आधार हो, युवा सही बाटोमा अघि बढे देश पनि सही बाटोमा अघि बढ्छ, युवा गलत बाटोमा गए देश पनि विनाशको बाटो जान्छ ।” युवाले विकासको बाटो डोर्याउन सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए ।

कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले युवाको शक्तिलाई समूचीतरुपमा सदुपयोग गर्न सकिए प्रदेशले छिट्टै विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे । उनले समाजको मूल प्रवाहभन्दा बाहिर रहेका युवालाई सही दिशा दिनु सबैको साझा दायित्व हो भने ।

गलत बाटोमा लागेका युवाका लागि प्रदेश सरकारले महोत्तरीको गौशाला नगरपालिका–८ मा प्रदेशस्तरीय सुधार केन्द्र बनाउन लागेको जानकारी दिंदै मन्त्री साहले यसबाट युवालाई सही बाटोमा ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहको अध्यक्षतमा आयोजित उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मञ्जु यादव, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठ, युवा अभियन्ता विकास ठाकुरलगायतले रोजगारी सिर्जना गरेर युवालाई स्वदेशमै परिचालन गर्नुपर्नेमा जोड दिए ।

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा आजदेखि पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आजदेखि सुरु भएको हो । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा मधेस प्रदेशका आठवटै जिल्लाको करिब चार हजार युवाको सहभागिता रहेको मधेस प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव ठूलोबाबु दाहालले जानकारी दिए ।

दुई दिनसम्म चल्ने सो महोत्सवको पहिलो दिन आज मधेस मन्थनअन्तर्गत मधेस प्रदेशमा राजनीति, उद्यान, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवासहित विभिन्न क्षेत्रमा रहेर सकारात्मक परिवर्तनका लागि निरन्तर प्रयासमा लगेका उदाहरणीय युवाका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम रहेको उपसचिव दाहालले बताए ।

मूलधारमा समेटिन नसकेका मधेसका युवाको सीप र दक्षतालाई परिचित गराउन र सम्भावनाका मार्गमा प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको दोस्रो दिन बिहीबार मधेस प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तक्र्रिया गर्ने र सोको सम्बोधन गर्न साझा प्रतिबद्धताका लागि आह्वान गर्ने उपसचिव दाहालले बताए ।

महोत्सवमा मधेस जागरण तथा अभिमुखीकरणअन्तर्गत वित्तीय साक्षरता, उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिजस्ता विषयमा अधिकतम युवालाई सहभागी गराई विज्ञबाट सहजीकरण गराइने जनाएको छ ।

युवा उद्यमीद्वारा सञ्चालित विभिन्न उद्योग तथा उद्यमको प्रवद्र्धन गर्न स्थान उपलब्ध गराउन मधेस हटिया (स्टल प्रदर्शनी) सँगै मधेसका मौलिक संस्कृति तथा परम्परालाई स्थानीय कलाकारको अग्रसरतामा सांस्कृतिक साँझ आयोजना गरिने मन्त्रालयका उपसचिव दाहालको भनाइ छ ।

मधेस प्रदेशमा कलाकारिता, उद्यम, राजनीति, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवालगायत विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरेका उत्कृष्ट सात संस्था तथा व्यक्तिलाई महोत्सवकै अवसरमा सम्मान गरिने र सम्मान प्राप्त गरेका संस्थाले ल्याएका परिवर्तनका बारेमा आमसञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण गरिनेसमेत मन्त्रालयले जनाएको छ । महोत्सवमा छलफलबाट आएका सुझावलाई समेटिएर घोषणापत्रसमेत जारी उपसचिव दाहालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !