१२ असार २०८१, बुधबार

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका सन्दर्भमा आपूर्तिमन्त्री बडूको राष्ट्रिय सभालाई जवाफ


दिलेन्द्रप्रसाद बडू

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्यबृद्धिको विषयमा राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिएका छन् ।

हिजो मंगलबारको बैठक मार्फत राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मूल्यबृद्धिको विषयमा आज बुधबारको बैठकमा सम्बन्धीतमन्त्रीले जवाफ दिनका लागि नेपाल सरकारलाई रुलिङ गरेका थिए । मूल्यबृद्धिको विषयमा सरकारको जवाफ माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले हिजो मंगलबारको बैठक समेत अबरुद्ध पारेको थियो ।

सार्वजनिक महत्वको विषयमा जानकारी दिंदै मन्त्री बडूले नेपाल आयल निगमलाई यही असार २ गते आईओसीबाट प्राप्त मूल्यसूची अनुसार पेट्रोलको खरिद लागत मूल्य प्रतिलिटर २०९ रुपियाँ २८ पैसा, डिजेलको प्रतिलिटर २०२ रुपियाँ १६ पैसा, हवाई ईन्धनमा प्रतिलिटर १६८ रुपियाँ ७० पैसा र एल पि ग्यासको प्रति सिलिन्डर २५ सय ५१ रुपियाँ १५ पैसा परिरहेको बताएका छन् ।

उनले पछिल्लो पटक मूल्यबृद्धि हुनु भन्दा अगाडि प्रति लिटर पेट्रोलमा करिब ३१ रुपियाँ २८ पैसा, डिजेलमा करिब ३७ रुपियाँ १६ पैसा, हवाई ईन्धनमा प्रतिलिटर २ रुपियाँ ७० पैसा घाटा र एल.पि. ग्यासमा प्रति सिलिन्डर ७ सय ५१ रुपियाँ घाटा हुने अवस्था रही समग्रमा पेट्रोलियम पदार्थको कारोबारबाट नेपाल आयल निगमलाई १५ दिनको अनुमानित विक्रिमा करिव ४ अर्ब ८२ करोड रुपियाँ घाटा हुने अवस्था रहेको बताए ।

उनले यही असार ६ गते देखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर २७ रुपियाँ ९ पैसाले बृद्धि गरिए पनि एल.पि. ग्यासमा निगमलाई प्रति सिलिन्डर ७ सय ५१ रुपियाँ घाटा हुँदा समेत कुनै मूल्यबृद्वि नगरी यथावत राखिएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगर्दा आयल निगमलाई जेष्ठ मसान्तसम्ममा करिव ५० अर्ब घाटा हुन गएको बताउँदै मन्त्री बडूले इन्डियन आयल कर्पोरेशनलाई २२ अर्ब रुपियाँ तिर्न बाकी रहेको पनि जानकारी गराए ।

इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएकाले तथा आपूर्ति व्यवस्था सहज बनाई राख्न पनि आयल निगमले मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक अवस्था रहेको आपूर्तिमन्त्री बडूको भनाई थियो ।

आपूर्तिमन्त्री बडूले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि हुने विषय आफूहरुको काबू भन्दा बाहिर रहेको बताउँदै रुस र युक्रेन युद्धले गर्दा समग्र विश्वमा नै मूल्य बृद्धि भइरहेको जानकारी दिए ।

मूल्यबृद्धिको विषयमा प्रतिनिधि सभाको हिजो मंगलबारको बैठकमा समेत आपूर्तिमन्त्री बडूले सोही व्यहोराको जवाफ दिएका थिए ।
यसैबीच, राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८९ माथिको मन्त्रालयगत छलफल जारी रह्यो ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी ७ मन्त्रालयसँग सम्बन्धित विभिन्न खर्च शिर्षकहरु माथि छलफल भएको थियो । मन्त्रालयगत छलफल अर्को बैठकमा पनि जारी रहने भएको छ ।

मन्त्रालयगत छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरु भगवती न्यौपाने र सोनाम गेल्जेन शेर्पाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथि विनियोजन गरिएको खर्च रकमलाई घटाएर एक रुपियाँ कायम गरियोस् भनी छुट्टाछुट्टै खर्च कटौतीको प्रस्ताव समेत प्रस्तुत गरेका थिए ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड-१९ संकट व्यवस्थापन विधेयक, २०७८’ पेश गरेका थिए । राष्ट्रिय सभाको अर्को बैठक भोलि असार ९ गते दिउँसो १ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !