२९ बैशाख २०८१, शनिबार

एकलौटी सरकार नभएकाले धेरै काम गर्न सक्ने अवस्था छैन : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी सरकार नभएकाले धेरै काम गर्न सक्ने अवस्था नभएको स्वीकार गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

उनले कांग्रेसको एकलौटी सरकार नभएको उल्लेख गर्दै ट्रेड युनियन कांग्रेसले धेरै माग दाबी गर्न नमिल्ने बताएका छन् । उनले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूका लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढसंकल्पित रहेको बताए ।

उनले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरणसमेत गराएका छन् ।

उनले राष्ट्रसेवक कर्मचारीको तलबसमेत वृद्धि गरिएको अवस्थामा थप लगनशिल हुन आग्रह गरेका हुन् । उनले सरकार ट्रेड युनियनसँग समन्वय गरेर अगाडि बढ्ने र उसले उठाएको विषयवस्तु क्रमशः सम्बोधन गर्दै लैजाने बताएका हुन् ।

उनले हरेक नागरिकले उचित श्रम अध्यास र पारिश्रमिक पाउनुपर्ने बताए । श्रम बजारलाई चलायमान बनाउन हरेक श्रमिकलाई रोजगारी दिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !