४ असार २०८१, मंगलबार

अछाम घटनाको सत्य तथ्य पत्ता लगाई कारबाही प्रक्रिया अगाडि बढाउन सभामुखको रुलिङ


अग्नि प्रसाद सापकोटा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दुई साता अघि अछाममा हत्या भएको भनिएका विनोद शाहीको मृत्युको घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाई दोषीउपर कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारलाई रुलिङ गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद यज्ञबहादुर बोगटीले अछामका विनोद शाहीको हत्या भएको दुईसाता वितिसक्दा पनि दोषीलाई कानूनी दायरामा ल्याउन ढिलाइ गरिएको सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सभामुखसँग समय मागेर बोल्दै सांसद बोगटीले एक जना विद्यार्थी मारिदा पनि राजनीतिकरण भएको बताउँदै जिल्ला प्रहरी कार्यालय अछामले अझैसम्म पनि उक्त घटनाको सम्बन्धमा जाहेरी लिन नमानेकाले उक्त घटनको छानबिन र दोषीउपर कारबाहीको लागि सरकारको नामा रुलिङ गर्न सभामुखसँग माग गरेका थिए ।

सांसद बोगटीको मागलाई सम्बोधन गर्दै सभामुख उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कार्बाहीको प्रक्रिया अघि बढाउन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठक शुरुमै समय मागेर बोल्दै नेकपा(एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौंको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका थिए ।

सांसद श्रेष्ठले लामो समयदेखि काठमाडौंका जनता दुर्गन्ध र फोहरले आजित भईरहेको भन्दै तत्काल समाधान खोज्न आग्रह गर्दै सिसडोल र बञ्चरे डाँडाका जनप्रतिनिधिबीच सहमति भए पनि फोहर फाल्न नदिने प्रवृत्ति दोहोरिएकोले त्यहाँका जनताको माग सम्बोधन गर्न सरकारसँग माग गरेका थिए ।

उनले फोहर नउठे अब काठमाडौंका जनता चुपलागेर नबस्ने भन्दै फोहर व्यवस्थाापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनु पर्ने धारणा राख्दै काठमाडौंको फोहर नउठेको विषयमा सरकारको आधिकारिक धारणा माग गरेका थिए ।

उनले तत्काल फोहर उठ्छ की उठ्दैन ? भनी सरकारसँग प्रश्न समेत गरेका थिए । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले शुन्य समयमा बोल्दै सभामुख मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

शुन्य समयमा बोल्दै सत्तारुढ दल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको फोहरमुक्त काठमाडौं बनाउने अभियानलाई साथ दिन सम्पूणर् नगरबासीलाई आग्रह गरेका थिए । उनले फोहर व्यवस्थापनमा कानूनी अड्चन फुकाउन प्रधानमन्त्री स्वयंले नै विशेष पहलकदमी लिनुपर्ने खाँचो औंल्याउँदै भने, ‘काठमाडौंको फोहर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले गरिरहेको काममा मद्धत गर्नु हामी सबैको कर्तव्य हो तर, कतिपय कुरा दुईटा निकायले चाहेर मात्रै गर्न सम्भव छैन, स्रोत साधन र कानून नियमको गाँठो फुकाउन सम्माननीय प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु ।’

सरकारले आफ्नो कर्तव्य पुरागरेसँगै नगरबासीले पनि महानगरपालिकाको आह्वान बमोजिम कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्ने सांसद थापाको भनाई छ । फोहरमुक्त काठमाडौँ अभियानलाई सफल बनाउन महानगरसँग जोडिएका अन्य नगरपालिका र सम्पूणर् वडाहरुले संघसंस्थाको साथमा काम अघि बढाउन पनि सांसद थापाले आग्रह गरेका थिए ।

सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले नागरिकता अभावले बालबालिकाले विद्यालय भर्ना हुन नपाएको भन्दै नागरिकता सम्बन्धी विधेयक तत्काल अगाडि बढाउन माग गर्दै थारु समुदाय, मधेशी उत्पीडनमा परेका समुदाय तथा टिकापुरका बन्दी रिहाइको माग गरेका थिए ।

शुन्य समयमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा.अमरेशकुमार सिंहले संसदमा उपसभामुखको नियुक्ति किन ढिलाई भइरहेको छ ? भनी प्रश्न गर्दै आवश्यकता नभए उक्त पद खारेज गर्न माग गरेका थिए ।

नेकपा(माओवादी केन्द्र)की सांसद अमृता थापाले देशमा बालिका र किशोरीले बाच्न पाउनुपर्ने वातावरण सिर्जना गर्न माग गरेकी थिइन् । हालै इटहरीकी १५ वर्षीया अस्मिता चौधरी बेपत्ता पारिएको घटनाको अहिलेसम्म प्रहरी प्रशासनले चासो नदिएको भन्दै सांसद थापाले तत्काल सत्यतथ्य पत्तालगाई दोषीमाथि कारबाहीको माग गरेकी थिइन् ।

शुन्य समयमा सांसदहरु आशाकुमारी वि.क., उमाशंकर अरगरिया, कृष्णबहादुर राई, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, खेमप्रसाद लोहनी, गोपालबहादुर बम, घनश्याम खतिवडा, झपटबहादुर रावल, चाँद तारा कुमारी लगायतले बोल्दै समसामियक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !