६ बैशाख २०८१, बिहिबार

संसदमा एमाले सांसदद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग


लालबहादुर थापा

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबहादुर थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासहित तीनजना आयुक्तको राजीनामा माग गरेका छन् ।

निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुनसम्मत नभएको दावी गर्दै एमाले सांसद थापाले प्रमुख निर्वाचन आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौडेलको राजीनामा मागेका हुन् ।

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगकै छानबिन समितिको सुझावविपरीत सत्तापक्षको प्रभावमा परेर गरिएको भन्दै मतगणना अघि बढाउन समेत माग गरेका छन् ।

प्रतिनिधिसभाको आज जारी बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले बाजुरामा सत्तापक्षले प्रहरी प्रशासनमार्फत नै बुथ कब्जा गरेको र प्रतिकूल ठाउँमा मतदान गर्न नदिएर धाँधली गरेको आरोप लगाए ।

बूढीगंगामा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि पुनः निर्वाचन हुने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !