१३ बैशाख २०८१, बिहिबार

नयाँ शक्तिको कार्यविधिः प्रवक्ता खिमलाल देवकोटा


logo-of-New-shakti

२६ जेठ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका नेता-कार्यकर्ताहरुले २५ मिनेटभन्दा बढी समय भाषण गर्न नपाउने भएका छन् । यसैगरी सार्बजनिक कार्यक्रमहरुमा खादा लगाइदिने, ब्याच वितरण गर्ने लगायतका काम पनि नयाँ शक्तिले गर्नेछैन ।

नयाँ शक्तिले यी कुराहरु कार्यविधिमै उल्लेख गरेको छ । ‘पार्टीको आन्तरिक र सार्बजनिक कार्यक्रम सम्वन्धी विधि’मा लेखिएको छ, ‘प्रत्येक वक्ताहरुले बढीमा २० मिनेट र थप पाँच मिनेटसम्म २५ मिनेट ठूलो सभामा, आन्तरिक सभाहरुमा १० मिनेट र पार्टीका बैठकहरुमा ५ मिनेटमा आफ्ना धारणा टुंग्याउने सँस्कृतिको विकास गर्ने । बाँकी विषय लिखितरुपमा पेश गर्ने ।’

यो समय अवधि पार्टीको आन्तरिक कार्यक्रमहरुका लागि मात्रै हो । प्रशिक्षण र वैचारिक अन्तरसंवादको कार्यक्रमका लागि भने यो प्रावधान लागु हुनेछैन ।

कार्यक्रमहरु भद्दा हुने भएकाले नयाँ शक्तिले आचारसंहिता बनाएरै लागु गर्न लागेको हो । यो आचारसंहिता सुरुमा विधानमै राखिएको थियो तर विधान लामो र भद्दा हुने भन्दै त्यसलाई कार्यविधिमा राखिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

ब्याच, माला प्रतिवन्ध

अरु पार्टीहरुभन्दा फरक देखाउन खोजेको नयाँ शक्तिले औपचारिक कार्यक्रमहरुमा अतिथिहरुलाई मञ्चमा आसन ग्रहण पनि गराउने छैन । त्यतिमात्रै होइन, नयाँ शक्तिले अतिथिहरुलाई ब्याच, माला र खादा लगाइदिने परम्परा पनि त्याग्ने भएको छ ।

कार्यविधिमा लेखिएको छ, ‘अतिथिहरु लगायत सबैलाई ब्याच, खादा र माला अर्पणको परम्पराको अन्त्य गर्ने ।’

‘अनुत्पादक क्षेत्रमा खर्च नगर्ने र कार्यक्रमलाई पृथक बनाउने भनेर यसप्रकारको कार्यविधि बनाएका हौं,’ प्रवक्ता देवकोटाले भने, ‘हामीले व्यवहारमा लागु गर्न थालिसकेका छौं ।’

अतिथिहरुलाई यथास्थानमै आसन ग्रहण गराउने र प्रमुख अतिथि तथा अतिथिहरुलाई पृथकरुपले सम्बोधन नगर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा लेखिएको छ, ‘अतिथिहरुलाई नाम सम्बोधनबाट यथास्थानमा सम्मान र सबै दर्शकदीर्घामै आसन ग्रहण गर्ने प्रक्रियाको थालनी गर्ने । प्रमुख अतिथिको सम्बोधन र स्तर पृथक नगरी आमन्त्रित अतिथि र पार्टीको पदाधिकारी, हैसियत खोली सम्बोधन गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !