५ जेष्ठ २०८१, शनिबार

बजेटका सम्बन्धमा प्राप्त आलोचना, सुझाव र समर्थनलाई आत्मसाथ गर्छु : अर्थमन्त्री शर्मा


राष्ट्रियसभामा अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटका सम्बन्धमा सांसदहरुबाट प्राप्त आलोचना, सुझाव र समर्थनलाई आत्मसाथ गर्ने बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा आगामी बजेट माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटले आयातबाट उत्पादन तर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरता तर्फ र बञ्चितीकरणबाट समावेतीताको प्रस्थान तर्फ भन्ने मूलभुत लक्ष्य लिएको स्पष्ट पारेका छन् ।

अर्थमन्त्री शर्माले आगामी आ.ब.का लागि सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुने कुरा कसैलाई सम्भव र कसैलाई असम्भव लागे तापनि समग्रमा बजेट राम्रो भएको दावी गरे । उनले वर्तमान प्रधानमन्त्री, गठबन्धन दलका नेताहरु, बुद्धिजिवि र उत्पीडित जनताको आवाजलाई सुनेर तथा अर्थशास्त्रीहरुको मार्ग दर्शनलाई समेत आधार मानेर बजेट ल्याइएको बताए । उनले प्रश्न गरे,‘यो बजेटमा केही त्रुटि होलान् तर केही सही पक्ष छैनन् ?’

बजेटले कृषिलाई जोड दिएको कुरा जनताले बुझिसकेकाले अब जनताले बुझिसकेको कुरा लागू हुन समस्या नहुने दावी गर्दै अर्थमन्त्री शर्माले कार्यक्रम नयाँ भएर मात्र नपुग्ने हुँदा बजेट नयाँ संरचनाका साथ आएको बताए ।

जवाफको क्रममा अर्थमन्त्री शर्माले साना, मझौला र ठूलो उद्योगलाई प्रोत्साहन गर्दै निर्यातलाई प्रबद्र्धन गर्ने कुरा सम्भव भएको बताउँदै बजेट चुनावमुखी भन्ने कुरा सत्य नभएको बताए ।

राष्ट्रिय गौरवको आयोजनाहरुमा खर्च हुन सक्ने जति बजेट विनियोजन भएको जानकारी दिंदै अर्थमन्त्री शर्माले किसानलाई पेन्सन दिने कुरा अहिलको आवश्यकता भएको र लागि एउटा छुट्टै कोष स्थापना मार्फत पेन्सनको व्यवस्था गरिने पनि स्पष्ट पारे ।

नेपालको सगरमाथा वरिपरिको भूभागसम्म पुग्ने देशी-विदेशी सबैको इच्छा चाहना हुने हुँदा चतरा देखि सगरमाथा जोड्ने सडकको अवधारणा ल्याइएको सदनलाई जानकारी गराउँदै अर्थमन्त्री शर्माले यो चुनौतिपूणर् भए पनि असम्भव भने नभएको जिकिर गरे ।

काठमाडौं देखि चितवन जोड्ने दु्रत मार्ग प्रतिस्पर्धाका आधारमा लगानी बोर्ड मार्फत निजी क्षेत्रले निर्माण गर्ने बताउँदै यसमा स्वदेशी मात्र नभई विदेशी लगानी पनि आउन सक्ने अर्थमन्त्री शर्माको भनाई थियो । अर्थमन्त्री शर्माको जवाफ चित्त नबुेको भन्दै सांसदहरु भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, डा.बिमला राई पौड्याल र देबेन्द्र दाहालले थप स्पष्टीकरण माग गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभाको मंगलबारको बैठकमा ‘आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाको अर्को बैठक भोलि जेठ १९ गते दिउँसो १ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !