१९ बैशाख २०८१, बुधबार

ओलीपछि प्रधानमन्त्री देउवासँग बालेनको भेटवार्ता, के भयो कुराकानी ?

बालेनलाई देउवाले भने- चमत्कार गर्नुभयो, तपाईंलाई सरकारबाट पूर्ण सहयोग हुन्छ


शेरबहादुर देउवा र बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । मेयर साहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले महानगरको प्रमुखमा विजयी भएकोमा साहलाई बधाई दिँदै महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

देउवाले बालेनलाई चमत्कार गरेर काठमाडौँको मेयरमा विजय भएकोमा आफू खुशी हुनुको साथै ५ वर्षको कार्यकालमा सरकार र काँग्रेसको पूर्ण समर्थन रहने बताउँदै काठमाडौँ महानगरको विकासको लागि आफूलाई २४ घण्टा नै सम्पर्क सक्ने आश्वाशन समेत दिएका छन् ।

देउवाले काठमाडौँ महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको भन्दै विकासको काममा सहयोग हुने बताएका छन् । यस्तै देउवाले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनका लागि सकेजति उपाय लगाएर अघि बढेमा केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैको सहयोग हुने समेत बताए ।

देउवाले केन्द्र र प्रदेश सरकार साथमा रहेकाले जनताका समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए । साहले पनि महानगरमा कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !