काठमाडौँ। संसदको अवरोध आजदेखि हटेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आजको प्रतिनिधिसभाको बैठकमा भाग लिएपछि ९ महिना लामो संसदको अवरोध हटेको हो ।
लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको एमाले अब भने नियमित रूपमा सदन चल्न दिने अवस्थामा पुगेको हो । आजदेखि सुरु भएको सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा एमालेले कुनै अवरोध गरेन ।
आज मंगलबारदेखि सुरु भएको संसदको बैठकमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन गर्दै संसद अवरोध फिर्ता लिएको बताएका छन् । गतवर्ष भदौ २३ गतेदेखि एमालेले नियमित रुपमा संसद अवरोध गर्दै आएको थियो ।
सचीव ज्ञवालीले आजैदेखि संसदको अवरोध हटाएको र विरोधलाई प्रस्तुत गर्ने निर्णय गरेको बताएका छन् । एमालेले ९ महिनादेखि जारी राखेको संसद् अवरोध अबदेखि नगर्नेसमेत ठहर गरेको हो ।
बैठकको सुरुमै एमालेका सांसद ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो सङ्कट उत्पन्न भएकाले संसद् अवरोध खोल्ने निर्णय भएको जानकारी गराए । उनले आफ्नो पार्टीका असन्तुष्टिहरु कायम रहेको उल्लेख गरे । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन आजदेखि सुरु भएकोले एमाले पछि हटेको हो ।
देशको अर्थतन्त्रमा उत्पन्न सङ्कटबारे गम्भीर छलफल गर्न संसद् चल्नु आवश्यक रहेको स्पष्ट पारे । अदालतले कारबाही नगरेपनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढङ्गले फैसला गरेको उनको भनाइ छ ।
“दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्देश्य पूरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालत जस्ता संवैधानिक निकाय सहयोगी जस्तो बन्नु गलत हो”, उनले भने ।
यसअघि एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै संसदको बैठक अवरोध जारी राख्दै आएको थियो । एमालेले आफूले कारबाही गरेका १४ जना संसदलाई सभामुख सापकोटाले निष्काशन गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने आज पनि अनुपस्थित भएपछि पुन: एमालेले संसद अवरोध गर्ने हो की भन्ने आशंका गरिएको थियो । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित हुँदै आएको थियो ।
संघीय संसद सचिवायलद्वारा सार्वजनिक गरिएको कार्यसूचीमा अध्यादेश प्रस्तुत हुने कार्यक्रम रहेको छ । संघीय संसदले सार्वजनिक गरेको पहिलो कार्यसूची अनुसार आजको बैठकमा प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् ।
दोस्रो कार्यसूची अनुसार आजको बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाएका छन् । तेस्रो कार्यसूची अनुसार आजको बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन पनि गरेका छन् ।