काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज दिउसो ४ बजेसम्म देशभर ५५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई समय सकिएपनि मतदानस्थल प्रवेश गरेर लाइनमा बसेका मतदाताले भने मतदान गर्न सक्ने आयोगले बताएको छ ।
कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको आयोगले जनाएको छ । मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने उनले बताए ।