१३ बैशाख २०८१, बिहिबार

पूर्वप्रधानमन्त्री भट्टराईलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


भट्टराईलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

भट्टराईले स्थानीय तह निर्वाचनमा गोरखाको पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका थिए । भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधेको आयोगले बताएको छ ।

गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार-प्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । भट्टराईले सामाजिक सञ्जालमार्फत चिह्नमै स्वस्तिक छाप लगाएको देखिने मतपत्र फेसबुकमार्फत सार्वजनिक गरेका थिए।

यद्यपि मतपत्र सार्वजनिक गरेको भनेर प्रश्न उठेपछि भट्टराईले आफू सुरुदेखि नै खुल्ला मतदानको पक्षपाती रहेको स्पष्टीकरण दिएका थिए । राजीखुसी साथ मतदान गरेको कुरा कुनै अपराध गरेझै गरी लुकाउनु नपर्ने उनको भनाइ छ ।

निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेकाे मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । कानुनले कसैले पनि मतपत्रमा संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने भनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !