२६ बैशाख २०८१, बुधबार

घुमाउरो शैलीमा विश्वप्रकाशले मागे अर्थमन्त्री शर्माको राजीनामा


जनार्दन शर्मा र विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो शैलीमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै महामन्त्री शर्माले सांकेतिक रुपमा अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाव दिएका हुन् ।

यद्यपि उनले अर्थमन्त्री शर्माको नाम नलिएर महामन्त्री शर्माले पूर्वअर्थमन्त्री एवम् कांग्रेस नेता महेश आचार्यलाई सम्झँदै अप्रत्यक्ष रूपमा नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । महामन्त्री शर्माले तत्कालीन अर्थमन्त्री आचार्यको तस्बिर ट्वीटरमा पोष्ट गरेका छन् ।

कांग्रेस नेता आचार्यको तस्वीर शेयर गर्दै उनले लेखेका छन्, बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्–नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति । महामन्त्री शर्माले अहिले समयले नेता आचार्यलाई सम्झना गरिरहेको उल्लेख गरेका छन् ।

आचार्य २०५६ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । आचार्यको अग्रसरतामा त्यो समयको सरकारले नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावललाई पदबाट हटाएको थियो । सरकारले आफूलाई गभर्नरवाट हटाएपछि सरकारको उक्त निर्णयविरुद्ध रावलले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

सर्वोच्चले उनलाई पुनर्बहाली गरेपछि तत्कालिन अर्थमन्त्री आचार्यले नैतिकताको आधारमा राजीनामा दिएका थिए । शर्माले सांकेतिक रुपमा उक्त नजिर देखाउँदै अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्,‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मुल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति ! समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले हिजो अल्पकालीन आदेश दिएको थियो । न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नर अधिकारीमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।

मुद्दाको पुरा किनारा नलागेपनि सर्वोच्चको यो आदेशसंगै गभर्नर अधिकारी आजदेखि काममा फर्कन पाउने भएका छन् । न्यायाधीश फुयालको एकल इजलासमा भएको सुनुवाइपछि गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश जारी भएको हो ।

सर्वोच्चले अधिकारीलाई पुनः राष्ट्र बैंकको गभर्नर पदको जिम्मेवारी सम्हाल्न अल्पकालीन आदेश दिएसँगै अहिले अर्थमन्त्री शर्माले नैतिककताको आधारमा राजीनामा दिनुपर्ने दवाव बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !