५ जेष्ठ २०८१, शनिबार

गठबन्धनमा उपमहानगरको भागबण्डाको गाँठो अल्झियो जनकपुरमा


सत्ता गठबन्धन

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा उपमहानगरपालिकाको भागबण्डाको गाँठो जनकपुरमा गएर अल्झिएको छ । यसअघि गठबन्धनमा महानगरपालिकाको भागबण्डको गाँठो भने पोखरामा अल्झिएको थियो ।

गठबन्धनका शीर्ष नेताहरूको हिजो मंगलबार राति अबेरसम्म बसेको बैठकले महानगरपालिका भागबण्डा गरेपनि उपमहानगरपालिकाबारे पनि सहमति जुट्न सकेन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गए राति १ बजेसम्म छलफल चलेको थियो।

लामो रस्साकस्सीपछि गठबन्धनमा महानगरपालिकाको भागबण्डामा हिजो सहमति भएतापनि उपमहानगरको भागबण्डामा भने सकस देखिएको हो । गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा दाबी छाडेसंगै महानगरपालिकाको भागबण्डामा सहमति भएको हो ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशका पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेपछि नेकपा एकीकृत समाजवादीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो ।

हिजो मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगरपालिकामध्ये कांग्रेसलाई ३ वटा, माओवादी, एकीकृत समाजवादी र जसपालाई १-१ वटा दिने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

गठबन्धनमा भएको सहमतिअनुसार अव काठमाडौं, ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी र पोखरा एकीकृत समाजवादी पार्टीले पाउने भएका छन् । मेयर पाएका दहरुले महानगरमा उपमेयर भने अन्य पार्टीलाई छोड्नुपर्ने भएको छ ।

११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी हिजो छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

जनकपुर उपमहानगर जसपालाई दिने प्रस्ताव गरिएतापनि कांग्रेसले वीरगञ्ज महानगर मेयर आफूहरूले छाडेकोले जनकपुरको मेयर पाउनुपर्ने दाबी पेश गरेकोले गठबन्धनमा उपमहानगरको भागबण्डाको गाँठो जनकपुरमा गएर अल्झिएको हो ।

यसरी जनकपुर कसले लिने भन्ने बारेमा गठबन्धनमा सकस देखिएको हो । यस्तै माओवादी केन्द्रले घोराही र जितपुर-सिमरा पाउनुपर्ने दावी गरेको छ भने एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ ।

उपमहानगरको भागबण्डा टुंग्याउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !