२० पुस २०८१, शनिबार

सिट बाँडफाँट टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


सत्ता गठबन्धन बैठक

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । गठबन्धन दलहरु स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको विषयबारे छलफल गर्न जुटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न गठबन्धन दलका शीर्ष नेतासहित बैठक शुरु भएको स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । आज बिहान साढे ११ बजे बस्ने भनिएको पूर्वनिर्धारित बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको थियो ।

गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको सोमबारको बैठक सो विषयमा घनिभूतरुपमा छलफल भए पनि अन्तिम टुङ्गोमा पुग्न सकेको थिएन । सोमबारको बैठकमा विशेष गरी छ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट बारेमा छलफल भएको थियो ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरी सोहीअनुसार तयारी गरेका छन् । हिजो सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि गठबन्धनका शीर्ष नेताहरु आज पनि छलफलमा जुटेका हुन् ।

स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा महानगरपालिकामा गर्ने भनिएको भागबण्डाको गाँठो पोखरा महानगरपालिमा अड्किएको छ । हिजो बेलुकी बसेको गठबन्धनको बैठकमा ६ मध्ये ५ महानगरको भागबण्डामा लगभग सहमति भएतापनि पोखरामा हुन नसकेको थिएन ।

बैठकमा सहभागी एक नेताका अनुसार देशभरका ६ महानगरमा कांग्रेसलाई ३ वटा, माओवादी, एकीकृत समाजवादी र जसपालाई १-१ सिट दिने सहमति भएको हो । ती नेताका अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र, वीरगञ्जमा जनता समाजवादी पार्टी तथा पोखरामा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टी दुवैले दावी कायम राखेकोले पोखरा बाहेक अन्य ५ वटा महानगरमा सहमति जुटेको हो ।

गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको आज बस्न लागेको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको टुंगो लगाउने दावी गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिको बारेमा हिजो बैठकमा छलफल भएको र आज सोलाई अन्तिम रूप दिंदै सहमति गरिने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !