काठमाडौँ । सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् ।
गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिए ।
काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी छ वटा महानगर पालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउनेछ भने माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एक-एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उनले जानकारी दिए । यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ ।
त्यस्तै नगरपालिका र गाउँपालिकाको हकमा निर्णय गर्ने अधिकार जिल्ला समितिलाई नै दिइएको छ । जिल्ला समितिले टुङ्गो लगाउन नसकेका र मतैक्य हुन नसकेका स्थानमा भने केन्द्रकातर्फबाट सुझाव दिएर निष्कर्ष निकालिने उनको भनाइ छ ।
कतिपय जिल्लामा गठबन्धनले साझा उम्मेदवार तय गरी घोषणासमेत गरिसकेका छन् भने केही जिल्लामा छलफल जारी छ । निष्कर्ष निस्कन बाँकी रहेका जिल्लाकोसमेत छिट्टै परिणाम सार्वजनिक हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।
फरक एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले आफूहरुलाई भरतपुर महानगरपालिका नै चाहिन्छ भनेर गरिएको प्रचारमा सत्यता नभएको बताए । उनले भने, “गठबन्धनका दलबीच सहमति गर्दा, एउटा महानगरपालिका माओवादीले पाउने भन्ने छ । त्यसमा जुन सहज हुन्छ, त्यही लिने भन्ने कुरा हुन्छ । सोही दिशामा नै छलफल भइरहेको छ ।”
उनले माओवादीलाई महानगरपालिकामध्ये जुनसुकै एउटा दिए पनि हुन्छ भन्ने कोणबाट छलफल भएको बताए । उनले भने, “सहजताका हिसाबले जुन उपयुक्त लाग्छ, त्यही निर्णय हुन्छ ।”
साझा निर्वाचन चिन्ह बनाउन गाह्रो छ
पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको खण्डमा साझा निर्वाचन चिन्ह बनाउने विषय प्राविधिक हिसाबले गाह्रो रहेको बताए । गठबन्धनमा आबद्ध दलहरुकाबीचमा यसबारेमा समान्य छलफल भएको जानकारी दिँदै उनले भने, “निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अगाडि बढाइसकेकाले केही जटिलता उत्पन्न हुन सक्छ । हाम्रो भनाइ भने जुन वडामा जुन पार्टीको उम्मेदवार हुन्छ, उसैको निर्वाचन चिन्ह प्रयोग गर्दा सजिलो भने हुन्छ ।”
उनले एउटै पार्टीभित्र त साझा मत बनाउन गाह्रो हुने भएकाले गठबन्धन गर्दा केही असन्तुष्टि र केही विवाद हुनुलाई लोकतन्त्रमा अस्वभाविकरुपमा लिन नहुने उल्लेख गरे । साझा उद्देश्यका साथ एउटै मोर्चामा खडा भएका कारण सबै राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताले साझा सङ्कल्पलाई आत्मसात् गर्ने विश्वास व्यक्त गरे । उनले गठबन्धन कायम नभएका स्थानमा जो जससँग मिल्न सकिन्छ, त्यहाँ मिलेर जाने भन्नेमा सहमति रहेको बताए ।
उनले आफ्नो पार्टीलाई मात्रै गठबन्धन आवश्यक नभएको भन्दै साझा उद्देश्यका साथ अगाडि बढेकाले त्यसमा दाँयाबायाँ नहुने स्पष्ट पारे । माओवादीले एकलरुपमा निर्वाचन लड्नुपरे पनि त्यसको तयारी गरेको अध्यक्ष प्रचण्डको भनाइ छ ।